Share Love
  •  
  •  
  •  
  •  
  •  

त्यही चौतारोमा उनी कसैलाई कुरिराखेकी छिन…. शायद बर्षौदेखि, शताब्दीदेखि या फेरी जन्मौं जन्म देखि….उनलाई हेर्दा यही भान भयो….निश्चल, अविरल, अटुट उनि त्यस स्थानमा प्रतिक्ष्यारत छिन….उनका शरीरका स्वरुपहरु बदलिएका होलान….क्लिस्ट चम्किला उनका आवरण खुम्चिएका महसुस होला…तर उनको विश्वास, आधार अनि सहअस्तित्वको यात्रा निरन्तर उही गतिमा अघि बढदैछ…

बिहानको मिर्मिरे उज्यालोमा होस् या सन्ध्याकालिन झिसमिसे साँझमा दिनहुँ उनलाई केहि पल मन्त्रमुग्ध भइ नियाल्नु मेरो दिनचर्या नै बनेको थियो …. लाग्थ्यो केहि थियो उनीसंग, कुनै जादुमयी शीतल उर्जा….जो सदा मलाई उनितर्फ खिच्थ्यो…..यति मात्र कहाँ हो र? बेलुकीपख नीद्राको यात्रामा जानुपूर्व उनको बारेमा सोचेबिना निदाउन सक्तिनथे….. कहिलेकाहीं म आफुलाई प्रश्न गर्छु, कतै मलाई उनीसंग असीम प्रेम त भएको छैन ….मेरो झुकाब उनीप्रति बढ्दै थियो…..

यी सब चिजबाट अन्जान बेखबर उनि अझै पनि कसैको प्रतिक्षामा थिइन्…. पश्चिमतर्फ बहने शीतल हावाको वेगले फैलिएका केश राशिलाई केहि बेग्लै उडान दिन्थ्यो…..गगनतर्फ लक्षित आँखाले हर बन्धनबाट मुक्त भइ असिमित फैलिने उनको चाहको प्रतित गराउथ्यो…. जमिनसंग नतमस्तक भइ जोडिएको शरीरले जीवनप्रतिको कृतज्ञता इंगित गर्थ्यो….. क्षण-क्षणको सूक्ष्म बचाइले कालजयी विराट जीवनको जीवन्तताको झल्को दिन्थ्यो…..

म उनीप्रति अझै खिचिदै गएँ….या भनौं, मभित्र म कम उनि बढी समाहित भएकी छिन….या फेरी, अब म मेरो हैन केवल उनको भएको छु…. उनीबाट मतर्फ मोडिएको गहन शान्तिको पवित्रतालाई अझ धेरै समाहित गर्ने न साहस न त क्षमता नै मभित्र रह्यो….तप अनि जपले रापिएकि तेजस्वी उनीभन्दा म रुग्ण थिएँ….धर्मराउदै गएका पाइलालाई अडिग बनाउने कोशिश गर्दै म उनितर्फ मोडिए….प्रश्नका छालहरू मभित्र सल्बलाउदै थिएँ…..म प्रश्न गर्छु- को हौ तिमी? कसको प्रतिक्षामा छौ? किन कुरिराखेकी छौ? जसलाई तिमी कुरिराखेकी छौ के उसलाई तिम्रो खबर छ? के उ आउने पक्का छ? पक्का छ भने, कहिले आउछ? के उसले तिम्रो कदर गर्नेछ? को हो उ तिम्रो? इत्यादी इत्यादी….प्रश्नका भेलहरु मेरो मुखारबिन्दबाट उनितार्फ़ बग्न थाले….

निमेषभरको गहन सन्नाटाले मलाई उनीभित्र प्रवेश गरायो…बस् उनको मधुर वाणीले मलाई बर्तमानमा झकझक्याउछ…..उनि भन्छिन- तिम्रा कुनै पनि प्रश्नको उत्तर दिन म असमर्थ छु….उ मेरो हो या हैन मलाई थाहा छैन तर म पुरको पुरा उसको हुँ…र म यसरी उसकी भइसकेंकी अब कसैको हुने मेरो मनसाय छैन..म हरेक अपूर्णतालाइ चिरेर अस्तित्वगत पूर्णतामा विलिन भइसकेकी छु….

म फेरी प्रश्न गर्छु- किन सदा उस अन्जानको लागि यत्रो तपस्या, प्रेम अनि कृत्य गर्छौ? उनी पून: भन्छिन- म उसका लागि हैन प्रेमका लागि गर्छु…..उसको अनुपस्थितिको शुन्यता भित्र मैले मेरो जीवनको पूर्णता पाइसके…प्रेम कदापि पनि रित्तो हुन्न….यसले त रित्तो बनाएर पनि भरेर जान्छ… प्रेम पूराको पूरा दिनू हो…दिनुले नै यति सघन तृप्ति दिन्छ कि अरू कुनै चाहको या प्राप्तिको गुञ्जाइस नै रहन्न….

म हच्किएं…जुन शानले म उनलाई मेरी बन भनेर भन्न जान लागेको थिएँ त्यसमा शतत पूर्णविराम   लाग्यो… तर म यत्तिमै सीमित भईन…उनि मेरी नभए पनि म उनको सदा भैरहनेछु….जीवनपर्यन्त अमरत्वको लागि….

— सुस्मिता फुयाल


Share Love
  •  
  •  
  •  
  •  
  •